सरकारले युवालाई दिने सहुलियतपूर्ण कर्जामा १२७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको पछिल्लो ४ महिना (साउनदेखि कात्तिकसम्म) कर्जा प्रवाह १२७ प्रतिशतले बढेको हो ।
सरकारले नेपालमै केही गर्न चाहने युवाहरुलाई स्वरोजगार, उद्यमशील र कृषिमा आकर्षित गर्न बैंकमार्फत विभिन्न १० प्रकारका कर्जामा अनुदान दिने गरेको छ ।
यो चार महिनामा २ खर्ब ५ अर्ब रुपैयाँ बढी सहुलियतपुर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनामा विभिन्न बैंकहरुले यस्तो कर्जा १ खर्ब ६१ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रवाह गरेका थिए ।
तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ४ महिनामा सहुलियतपुर्ण कर्जा लिनेको संख्या १ लाख ४ हजार १ सय ९ जना थियो । चालु आवको सोही अवधिमा उक्त संख्या बढेर १ लाख ३३ हजार ९ सय ३० पुगेको छ ।
यस्तै अघिल्लो आर्थिक बर्ष २०७६/७७ मा सहुलियतपुर्ण कर्जा जम्मा ३२ हजार ४ सय ४८ जनाले ५९ अर्ब ५६ करोड रुपैयाँ लिएको देखिन्छ । यसको वृद्धिदर हेर्दा पनि अघिल्लो बर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यस्तो कर्जा प्रवाहमा ३ सय ४४ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
बैंकहरुले प्रवाह गरेको कर्जा मध्ये सबैभन्दा बढी कर्जा प्रवाह व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा भएको देखिन्छ । उक्त शीर्षकमा चालु आवको ४ महिनामा मात्रै १ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ बढीको कर्जा प्रवाह भएको छ । यो ४ महिनामा स्विकृत भएको कुल सहुलियतपुर्ण कर्जाको ६३ प्रतिशत हो ।
कृषिमा प्रवाह भएको यो कर्जा पछिल्लो ३ बर्षयता बढीरहेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो ४ महिनामा ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै प्रवाह भएको यस्तो कर्जा गत आवको पहिलो ४ महिनामा भने १ खर्ब ६ अर्ब ९७ करोड पुगेको थियो ।
चालू आर्थिक बर्षको पहिलो ४ महिनामा कृषि कर्जा ५५ हजार १ सय १६ व्यक्ति÷संस्थाले लिएका छन् ।
प्रतिक्रिया