माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादनको परीक्षण सफल, रसुवागढीमा उपकरण जडान सुरू

३ बर्ष अगाडि

काठमाडौं - माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो । 

आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत  मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ ।  निर्माण शुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले विसं २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि  कोरोना महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको  छ ।  

विसं २०७४ देखि आयोजनाको निर्माण   अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए । आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २.८६८ र वर्खायाममा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ । आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ  । 

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ ।  आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । 

आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको हो । उपकरण जडान गर्न करिब एक वर्षको समयावधि लाग्ने र सन् २०२२ सम्ममा आयोजनाले विद्युत् उत्पादन गर्ने कार्य तालिका रहेको उनले जानकारी दिए ।
      
सन् २०१३ बाट शुभारम्भ भएको सो आयोजनले विद्युत्गृहमा पानी पठाउने चार हजार १८५ मिटर लामो हेडरेस सुरूङ एवं विद्युत् गृह निर्माणको संरचना निर्माण गरिसकेको छ ।  विद्युत्गृहमा पानी लान भोटेकोसीको बाँध बाँध्ने कामसमेत निर्माण सम्पन्न गरी पानी बालुवा थिग्य्राउने भूमिगत डिसेण्डर पोखरी भने निर्माणको चरण अन्तिम चरणमा रहेको जनाइएको छ ।
      
गतहप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवं छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात उपकरण जडानका लागि भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको बताइन्छ । उनले गतहप्ता निर्माणाधीन आयोजनाको निर्माणस्थलबाटै आआफ्नो जिम्माको काम छिटो सम्पन्न गराउन ठेकेदार कम्पनीलाई  निर्देशन दिएलगत्तै कोभिडको डरले सुस्ताइरहेका ठेकेदार कम्पनीका जिम्मेवार व्यक्ति पुनःजागरुक भएको आयोजनाका प्राविधिक बताउँछन् ।
        
उपकरण जडानका लागि ४० जनाभन्दा बढी जनशक्तिले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काम गरिरहेका छन् । आयोजनाको सर्चटैङ्क भने भित्रिभागबाट निर्माण भइरहेको बताइएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया