छुट्टा छुट्टै घटना : आगलागीमा महिलाको मृत्यु, बस दुर्घटना हुँदा एक शिशुको मृत्यु

४ बर्ष अगाडि

कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उनको मृत्यु भएको हो । 

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए । शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते भएको उनले जानकारी लिए ।

भारतमा बस दुर्घटना हुँदा एक शिशुको मृत्यु 
नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।  

धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्र्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको जनाइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया