काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भारतमा रोजगारीमा रहेका नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) द्वारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका नेपाली कामदार आप्रवासीको हैसियतले रहेको तर वैदेशिक रोजगार ऐनले त्यसलाई समेट्न नसकेको भन्दै नयाँ नीति आवश्यक देखिएको बताए ।
नेपाल सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको बताए ।
श्रम शक्ति अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई परिचालन गर्ने सरकारको नीति रहेको बताए ।
प्रतिक्रिया