ड्राईभिङ लाइसेन्सको ट्रायल : परिक्षा दिने २१३ पास हुने २३७

३ बर्ष अगाडि

यातायात व्यवस्था कार्यालय लुम्बिनीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल नै नदिएका व्यक्ति पास भएर लाईसेन्सका लागि योग्य भएको फेला परेको छ । 

कार्यालयका कर्मचारीले घुस खाएर लाइसेन्स वितरण गर्ने गरेको कारण यस्तो अनियमितता फेला परेको हो । 

कार्यालय प्रमुख तेजनारायण यादव सहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा लाइसेन्सको खरिदबिक्री हुँदा परिक्षामा सहभागी नै नभएकाहरु नै पास भएको बताइएको छ ।

त्यहाँ  ट्रायलमै सहभागी नभएकासँग १ लाख ५० हजार रुपैयाँसम्म लिएर हेभी इक्विपमेन्टको लाइसेन्स बिक्री गरेको भन्दै लुम्बिनी प्रदेशको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा उजुरी परेको छ ।

कार्यालय प्रमुख यादव प्रदेश मन्त्रालयका सचिव सरुवासम्मको धम्की दिँदै लाइसेन्सको खरिदबिक्रीमा आफै सँलग्न हुने गरेको केही समय लुम्बिनी प्रदेशका् श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव समेत भएका नेपाल सरकारका सहसचिव कुमार दाहाल बताउँछन्। 

गत भदौ १३ गते देखि उक्त मन्त्रालयको सचिवको जिम्मेवारी लिएका दाहालले गत कात्तिक २८ गते पत्रकार सम्मेलन गर्दै यातायात व्यवस्था कार्यालय, लुम्बिनीले वितरण गरेका लाइसेन्सको छानबिन भइरहेको बताएका थिए । तर छानविन गर्ने सचिवको नै मंसिरमा सरुवा भएपछि यादवले पैसाको बलमा शक्तिकेन्द्रमा पहुँच राख्ने र एकछत्र राज गर्ने गरेको चर्चा चुलिएको थियो । 

यादवकै दबाबमा दाहाललाई मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाइएको कार्यालयकै कर्मचारीहरू बताउँछन् । यादव यसअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए । 

यादवले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आफू अनुकूलका कर्मचारीलाई राखेका छन् । ती कर्मचारी अहिले लाइसेन्स फाँटमा कार्यरत रहेको बताइएको छ ।

यादवले सबै पार्टीका कार्यकर्तालाई मिलाएर नयाँ कर्मचारी करारमा समेत राखेका छन् । 

अनियमितताको पोल नखुलोस भनेर कार्यालय प्रमुख यादवले ट्रायल सेन्टरमा रहेको सिसिटिभी क्यामेरा फुटेज समेत नियमित रूपमा डिलिट गर्न लगाउने गरेको कर्मचारी बताउँछन्।

कुनै विवाद भइहाले छानबिन हुँदा सिसिटिभी फुटेज खोजी हुने भएकोले उक्त दिनको फुटेज हटाउने र कम्प्युटर बिग्रिएको छ भन्ने जवाफ दिने गरेको एक अधिकृतले बताए।

बाग्मतीपछि सबैभन्दा बढी सेवाग्राही आउने यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हुने अनियमितताले गर्दा सक्षम चालकहरुले भने लाइसेन्स पाउन समस्या भोग्नुपरेको गुनासो गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया