काठमाडौं- नेपालका अधिकांश इन्टरनेट सेवाप्रदायकले ठूला इन्टरनेट प्याकेज नियामक निकाय दूरसञ्चार प्राधिकरणको स्वीकृत बिना सार्वजनिक गरेको पाइएको छ ।
दूरसञ्चार प्राधिकरणले शुत्रबार एक सूचना जारी गर्दै प्राधिकरणबाट अनुमति पत्र लिएका दूरसञ्चार सेवाप्रदायक इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरुले प्राधिकरणबाट सेवाको शुल्क÷महशुलदर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्र पत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेवसाईटमा सूचना प्रकाशन गरी लागू गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकहरुसँग लिने सेवाको शुल्क महशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम अनिवार्य रुपमा प्राधिकरणबाट स्वीकृत भएको हुनु पर्ने र उक्त सेवाको शुल्क महशुलदर प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नु पर्ने व्यवस्था रहेको छ । सेवा प्रदायकहरुले प्राधिकरणबाट सेवाको शुल्क÷महशुलदर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्र पत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेवसाईटमा सूचना प्रकाशन गरी लागू गरेकोमा प्राधिकरणको गम्भिर भएको छ ।’
हालै नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, भायानेट लगायतका इन्टरनेट सेवाप्रदायकले सयदेखि ६ सय एमबीपीएससम्मका इन्टरनेट प्याकेज सार्वजनिक गरेका छन । तर, यी प्याकेज प्राधिकरणबाट स्वीकृत नभइ सार्वजनिक भएको बताइएको छ ।
ठूला इन्टरनेट सेवाप्रदायकले समेत प्याकेजको अनुमति नलिएका कारण प्राधिकरणले सूचना निकालेको हो ।
प्रतिक्रिया