एक महिनामा वाणिज्य बैंकहरुको नाफा साढे ५ अर्ब, नबिल,एनआइसी एशिया र ग्लोबल आइएमईबाीच प्रतिस्पर्धा

४ बर्ष अगाडि

काठमाडौं, गत कात्तिक एक महिनामा वाणिज्य बैंकहरुले झण्डै साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुले ५ अर्ब ४१ करोड १३ लाख रुपैयाँ नाफा कमाएका हुन्।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक, एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंकको प्रतिस्पर्धा देखिएको छ।

कात्तिकसम्ममा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको हो। उसले गत कात्तिक महिनामा मात्रै ४१ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै कात्तिकसम्ममा धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा नबिल बैंक रहेको छ। उसले ४ महिनामा १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। नबिललाई पछयाउदै ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ ।  ग्लोबल आइएमई बैंकले १ अर्ब ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ।

गत साउन महिनामा नबिल बैंकले सबैभन्दा धेरै ६१ करोड नाफा कमाएको थियो भने ग्लोबलले ४८ करोड र एनआइसी एशिया बैंकले ४१ करोड नाफा कमाएको थियो। भदौ महिनासम्ममा ग्लोबल आइएमई बैंकले ९८ करोड नाफा कमाएर अरु दुई बैंकलाई उछिन्यो, असोज महिनामा एनआइसी एशिया बैंकले १ अर्ब १८ करोड नाफा कमाएर पुनः अघि लाग्यो। असोजमा नबिल र ग्लोबलको नाफा करिब उस्तै थियो। यसरी यो ४ महिनाको तथ्याँकमा तीन बैंक चर्को प्रतिष्पर्धामा देखिन्छन्।

कात्तिक महिनासम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक, सिद्धिार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र प्रभु बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन भने बाँकी १७ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँ भन्दा कम नाफा कमाएका छन्।

कात्तिकसम्ममा सेञ्चुरी कमर्शियल बैंकले सबैभन्दा थोरै ३१ करोड ४२ लाख नाफा कमाएको छ। उसले कात्तिक एक महिनामा ४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी, सिभिल बैंकले ३२ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ भने बैंक अफ काठमाण्डूले ३७ करोड ५८ लाख, हिमालयन बैंकले ४८ करोड ९४ लाख र नेपाल एसविआई बैंकले ५१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन्।

कात्तिक महिनामा सिभिल बैंकले सबैभन्दा थोरै ३ करोड रुपैयाँ मात्र नाफा कमाएको छ भने नबिल बैंकले सबैभन्दा धेरै ४४ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया