समीट लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न १३औं साधारण सभा बोलाएको हो ।

सभा पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।सभाले हाल कायम भुक्ता पूँजीको २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने पस्ताव पारित गर्ने छ । 

यस्तै सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्ज र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने छ । 

यसका साथै कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १५ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया