काठमाडौं - नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ ।
साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने छन् ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
प्रतिक्रिया