काठमाडौं,ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।
बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको उल्लेख गर्दैसीडीसीले नेपालको वित्तीय संस्थालाई गरेको यो सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोगहरु प्राप्त गर्न उनीहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिन्।
उनले ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताइन्।
प्रतिक्रिया