चार महिनामै  १ खर्ब ५० अर्ब घाटामा पुग्यो मुलुक, अर्थतन्त्र गम्भीर माेडमा

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको चार महिनामा मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार गत साउनदेखि कात्तिक मसान्तसम्ममा मुलुकको भुक्तानी अवस्था १ खर्ब ५० अर्ब ३८ करोड घाटामा गएको हो । 

देशमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तरलाई भुक्तानी सन्तुलनले जनाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदा यसले अर्थतन्त्रमै गम्भीर असर पार्दछ । गत वर्ष यसै अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब १० अर्ब बचतमा थियो ।

मुलुकको चालु खाता पनि ठूलो रकममा घाटामा पुगेको छ । चार महिनाको अवधिमा चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

मुलुकको भुक्तानी अवस्था घाटामा जाँदा विदेशी मुद्रा सञ्चिति उच्च दरले घटेको छ । असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४ महिनामै ११ प्रतिशतले कमी आई कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोडमा खुम्चिएको छ । ४ महिनामै कुल विदेशी मुद्रा सञ्चिति ११ प्रतिशतले घटेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा कात्तिक मसान्तमा ११ खर्ब ७ अर्ब ४७ करोडमा खुम्चिएको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ । चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको कुल विदेशी विनिमय सञ्चितिले ७।९ महिनाको वस्तु आयात र ७।२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया