काठमाडौं, नेपाल राष्ट्र बैंकले मर्जरको प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इभेष्टमेन्ट बैंकलाई मर्जरमा जान्छौं भन्दै म्याद मात्र थपिरहने हो कि वास्तवमै ४५ दिन भित्र मर्जर गरिसक्ने हो ? भन्ने प्रश्न सोधेको छ ।
ती दुई बैंकले मर्जरमा जानका लागि ४५ दिन थप्न आग्रह गरेपछि राष्ट्र बैंकले उनीहरुलाई मर्जरको नाममा वर्षौ झुलाउने मात्र हो कि वास्तवमा ४५ दिन भित्र मर्जर प्रक्रिया टुंगाउने हो भनेर प्रश्न सोधेको हो ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने गरिसम्झौता भएको ७ महिना हुन लाग्दा समेत मर्जरमा जाने कुनै तयारी नदेखेपछि केन्द्रीय बैंकले उनीहरुलाई यस्तो प्रश्न सोध्न वाध्य भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । थपिएको ४५ दिनपछि पनि फेरि समय थप्नका लागि पत्र बोकेर नआउन पनि राष्ट्र बैंकले ती दुई बैंकलाई आग्रह गरेको छ ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कति समय थप मर्जरका लागि समय दिने भन्ने बारेमा राष्ट्र बैंक छलफलमा जुटेको छ ।
राष्ट्र बैंकले हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मंसिर १९ भित्रमा मर्जरमा जानका लागि म्याद थपेको थियो । उक्त समयमा पनि दुई बैंक मर्जरमा जान नसकेपछि सो समयबाट थप ४५ दिनका लागि म्याद थप गरिदिन आग्रह गरेका थिए ।
नेपालका दुई ठूला हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । यी दुई ‘बिग’ बैंकबीच मर्जरमा जाने सम्झौता भएको पनि ७ महिना भएको छ । तर, यति लामो समयसम्म पनि यी दुई बैंकबीच मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैनन् ।
नेपाल राष्ट्र बैंकले यी दुई बैंक मर्जरमा जानका लागि सम्झौता भएको १५÷२० दिनमा नै एलओआई दिएको थियो । बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकलाई राष्ट्र बैंकले जेठ महिनामा नै एलओआइ दिएको थियो । पहिलो एलओआइ दिएको समय सीमा असोज पहिलो साता सकिएको थियो । तर, उक्त समय सीमा भित्र पनि मर्जरमा जान नसक्ने अवस्था आएपछि पुनः दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई मर्जरको म्याद थपिदिन आग्रह गरेका थिए ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकको आग्रहमा केन्द्रीय बैंकले मंसिर १९ सम्म मर्जरमा जानका लागि समय थपिएको थियो । तर, थपिएको समयसम्ममा पनि मर्जर हुन सकेन् । अहिले पनि मर्जरमा जान दुवै बैंकले पहल गरिहेका छैनन् ।
बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेपछि ती दुई बैंकको शेयर कारोबार रोक्का भएको छ । सम्झौता गरेको ७ महिना हुँदा पनि लगानीकर्ताले दुबै बैंकको शेयर कारोबार गर्न पाएका छैन् ।
गत भदौं २ गते नेप्सेले नयाँ उचाइ चुमेको थियो । त्यसदिन नेप्से ३१९८ अंक पुगेको थियो । त्यसबेला लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर उलेख्य नाफा हात पारेका थिए । तर, कारोबार रोक्का भएका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर भएका लगानीकर्ताले भने नेप्से नयाँ उचाइमा पुगेको बेला शेयर बिक्री गर्न सक्ने अवस्थामा थिएनन् ।
प्रतिक्रिया