निर्यात १०४ प्रतिशतले बढ्यो, तर ब्यापार घाटा  ५६.८ प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ब्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कार्तिकसम्म कुल वस्तु व्यापार घाटा रु.५६८ अर्ब १७ करोड पुगेको हो । गतवर्षको सोही अवधिमा भने यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । 

समिक्षा अवधिमा जम्मा रु.८२ अर्ब १२ करोड बराबरको बस्तु निर्यात हुँदा आयात भने रु. ६५० अर्ब २९ करोड बराबरको भएको छ । तर यो अवधिमा वस्तु निर्यात भने १०४.३ प्रतिशतले बढको छ । बरु आयात ६१.६ प्रतिशतले मात्र वृद्धि भएको छ । अघिल्लो वर्ष निर्यात १०.८ प्रतिशतले वृद्धि हुँदा आयात भने १०.६ प्रतिशतले घटेको थियो । 

अघिल्लो वर्ष कोभिड १९ का महामारीको कारण नेपालमा विदेशबाट वस्तु आयात घटेको थियो भने निर्यात बढेको थियो । तर यो वर्ष स्थीती सहज हुँदा आयात बढेपछि ब्यापार घाटा चुलिएको हो । 

निर्यातको अबस्था हेर्दा भारत तर्फ १४०.२ प्रतिशत, चीनतर्फ ७.३ प्रतिशत र अन्य मूलुकतर्फ २३.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात भारतबाट ४६.१ प्रतिशत, चीनबाट ५६.९ प्रतिशत र अन्य मूलुकबाट ११७.२ प्रतिशतले वृद्धि भएको छ ।  

राष्ट्रबैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना,धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढ्दा चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतकावस्तुको निर्यात भने घटेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । 

कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ भने आयात सम्पूर्ण प्रमुख नाकाबाट नै वृद्धि भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया