एक वर्षमै नेप्से परिसुचक १०६६ अंकले बढ्यो, ५५ अर्ब ४५ करोड धितोपत्र सूचीकृत

४ बर्ष अगाडि

काठमडौं, गत आर्थिक वर्षको कात्तिक मसान्तमा १७१८.५ रहेको नेप्से सूचकाङ्क चालु आर्थिक वर्षको कात्तिक मसान्तमा २७८४.६ पुगेको छ ।

चालु आवको ४ महिनामा धितोपत्र बजार पुँजीकरण रु.३९ खर्ब १६ अर्ब ४५ करोड पुगेको छ । गत आवको सोही अवधीमा बजार पुँजीकरण रु.२३ खर्ब ०२ अर्ब ७६ करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधीसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ४३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । गत आवको कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.५ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ कात्तिकसम्ममा सूचीकृत ६ अर्ब १ करोड शेयरको चुक्ता मूल्य रु.५९१ अर्ब २२ करोड रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को चौथो महिनासम्ममा रु.३४ अर्ब ५३ करोड बराबरको डिबेन्चर, रु.८ अर्ब ९३ करोड बराबरको हकप्रद शेयर, रु.७ अर्ब ४६ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.२ अर्ब ३ करोड बराबरको बोनस शेयर गरी कुल रु.५५ अर्ब ४५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब ५८ करोड बराबरको साधारण शेयर, रु.१ अर्ब ६० करोड बराबरको डिबेन्चर र रु.२४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.६ अर्ब ४२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया