काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनस् निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने भएका हुन् ।
यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया