काठमाडौं। लगातार घटिरहेको सेयर बजारमा आज मंगलबार हरियाली छाएको छ।
पछिल्लो २ कारोबारमा भारी अंकले घटेको बजार खुलेको साढे २ घन्टा नबित्दै ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै बन्द भएको छ। बजार आज १३७.१८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४१८.८५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २२.७२ अंकले बढेर ४६०.३१ को विन्दुमा पुगेको छ। कारोबार भने पौने २ अर्ब बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार धेरै घटेकोले आज बढेको बताउँछन्। ‘बजार २–३ दिनअघिबाटै फर्किनुपर्ने थियो तर लगानीकर्ता आत्तिँदा बजार यो साता सुरुआती कारोबारहरुमै भारी अंकले घट्यो’, उनले भने, ‘बजार यहाँभन्दा तल जाने ठाउँ थिएन, त्यसैले आज बजार फर्कियो।’
बजार घट्नुपर्ने खास कारण नै रहेको ढकाल बताउँछन्। ‘हिजोअस्ति बजार घट्नुपर्ने कारण थिएन’, उनले भने, ‘अब बजार करेक्सनहुँदै माथि नै जाने हो।’
ढकालले राम्रा कम्पनीमा लगानी गर्न सुझाव दिए। ‘ब्याजदर बढ्ने सम्भावना छैन, तरलता पनि सहज हुँदै जानेछ’, उनले भने, ‘बजारको भविष्य उज्ज्वल छ।’
सक्रिय लगानीकर्ता रामप्रसाद लामिछाने बजार तलमाथि भइरहने हुनाले लगानीकर्तालाई नआत्तिन सुझाव दिन्छन्। ‘यस्तो बेला लगानीकर्ताले धैर्यता राख्नुपर्छ’, उनले भने।
आज बजार धेरै घटेको बढेको लामिछानेको भनाइ छ। ‘यो बढाइ स्वाभाविक हो’, उनले भने।
बजार यहाँभन्दा तल जाने सम्भावना नरहेको लामिछाने बताउँछन्। राम्रा कम्पनी उठाउने अवसर पनि सिर्जना भएको उनको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ९.२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ८.६२ प्रतिशतले बढेको आज जलविद्युतमा ७.८४ प्रतिशत, बैंकिङ समूहमा ४.२९ प्रतिशत, व्यापार समूहमा ८.०१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ६.१७ प्रतिशत, निर्जीवन बीमा समूहमा ६.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.७४ प्रतिशत, अन्य समूहमा ७.२३ प्रतिशत, लघुवित्त समूहमा ६.५८ प्रतिशत, जीवन बीमा समूहमा ५.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६८ प्रतिशत र लगानी समूहमा ८ प्रतिशतको बढोत्तरी भएको छ।(बिजशाला)
प्रतिक्रिया