काठमाडौं । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए ।
घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा एक जनाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बा ४४ प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सुचारु भएका छन् ।
प्रतिक्रिया