काठमाडौं - अर्थ मन्त्रालयले सेयर बजारप्रति अर्थ मन्त्री जनार्दन शर्मा अत्यन्तै सकारात्मक रहेको जनाएको छ । सेयर बजार लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई पूँजी बजार विरोधी भन्दै तस्विर सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले यस्तो प्रतिकृया दिएको हो ।
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले काठमाडौंमा आयोजीत एक अन्तरक्रियामा सेयर बजारप्रति अर्थ मन्त्री अत्यन्तै सकारात्मक रहेको बताए । ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रूपमा लागिरहनु भएको छ’, उनले भने, ‘बजारमा हल्ला गरिए जस्तो अर्थ मन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन।’
अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंक, धितो पत्र बोर्ड लगायतका सरोकारवाला निकायहरूसँग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्ने गरेको पनि उनले बताए । ‘अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ’, उनले भने, ‘आम लगानीकर्ताहरूलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरूको मागको बारेमा अर्थ मन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भइरहेको छ। केही दिनभित्रमा ठोस कुरा आउनेछ।’
अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रूपमा तुलना गरेपछि बजार झन् घटेको भन्दै लगानीकर्ताले पूँजी बजार विरोधीलाई नो भोट भन्दै फोटो सार्वजनिक गरिहरका छन् । तर अर्थमन्त्रीले कुनै पनि कुराको मूल्य स्वाभाविक हुनुपर्दछ भन्ने अर्थमा उक्त प्रतिकृया दिएको उप्रेतीले बताए । ‘अस्वाभाविक हुनु हुँदैन भन्ने आशयको उहाँको धारणालाई मिडियाहरूले गलत व्याख्या गरिदिए’, उनले भने ।
अहिलेको तरलता संकटको बारेमा उनले २ हप्ताभित्र पुँजीगत खर्च व्यापक रूपमा गर्ने गरी तयारी भइरहेको बताए । ‘अहिले देखिएको तरलता संकटलाई द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन’, उनले भने ।
प्रतिक्रिया