सिभिल बैंकको ३ अर्बको ३० लाख कित्ता ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंक लिमिटेडले आजबाट बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशतमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई किनबेच समेत गर्न सकिनेछ । 

सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ९ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया