कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन आज : प्रचण्ड र माधव सहभागी हुने, ओलीले गरे आउने बाचा

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गर्नेछन् ।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस  नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया