अब ट्राफिक कारबाहीमा कागजात जफत नहुने, ‘ठाउँको ठाउँ’ जरिवाना

४ बर्ष अगाडि

अब ट्राफिक नियम उल्लंघन गरेर काराबाहीमा पर्ने सवारी चालकको कागजात जफत नहुने भएको छ । कारवाहीमा परेका सवारी चालकले ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने सुविधा सुरु भएपछि कागजात जफत नहुने भएको हो । 

त्यसका लागि जरिवाना भने ठाउँको ठाउँ तिर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

अहिले ट्राफिक कारवाहीमा परेका सवारीचालकको कागजात नियन्त्रणमा लिइएका लिई निश्चित समय सम्म ट्राफिक कार्यालयमा लग्ने गरिएको छ। सवारीधनीले जरिवाना भुक्तानी गरी त्यसको प्रमाण लिएर सम्बन्धित कार्यालयमा गएपछि मात्र कागजात फिर्ता पाउने गरेका छन्। 

तर अब भने चालकले कारबाही गरिएको ठाउँमै जरिवाना तिरेमा कागजात फिर्ता पाउँछन् । त्यसका लागि बैंक वा ट्राफिक प्रहरी कार्यालयहरुमा धाइरहनु पर्ने छैन । यो सेवा पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँचवटा ट्राफिक कार्यालयबाट शुरु गरिएको महाशाखाले जनाएको छ । सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गर्ने योजना छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया