काठमाडौं- आईपिओ निष्काशन भएको साढे २ महिना भई सक्दा पनि बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरण हुन सकेको छैन ।
कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गर्न ढिला गर्दा शेयर सूचीकरणमा ढिलाई भएको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको थियो । तर कम्पनीले ढिलो गरि शेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटललाई चयन गरेको थियो । सोहि कारण प्रकियागत ढिलाई भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिडीएसमा शेयर सूचीकरणको प्रक्रिया सुरु भईसकेकोले अबको १० दिन भित्रमा शेयर सुचिकृत हुने छ ।
बुद्धभूमिले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण शेयर बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएका थिए। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् ।
प्रतिक्रिया