पैंतिस वर्ष सरकारी जागिर गर्दा २ करोड २ करोड ६७ लाख रुपैयाँ कमाउने एकजना शाखा अधिकृत बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको भन्दै अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्म सरकारी जागिर गरेका थिए । थपलिया अर्थ मन्त्रालयल मातहतका विभिन्न निकायमा रहँदा २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । सो अबधिमा उनले कमाएको सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्डाउन्न रुपैयाँ मात्रै रहेको र बाँकी १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँको स्रोत नखुलेकोले आरोपपत्रमा उल्लेख छ ।
अदालतमा दायर गरिएको मुद्धामा थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेकोले सोही रकम बराबरको बिगो मागदावी गरिएको छ । सोही दफाअनुसार थपलियालाई १ करोड ६४ लाख ८९ हजार सातसय रूपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय मागदावी गरिएको छ । साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।
थपलियाले उक्त सम्पत्ति गैरकानुनी ढङ्गले आर्जन गरेको पुष्टि हुन आएको भन्दै सार्वजनिक पद धारण गरेका उद्धवप्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ ।
त्यस्तै थपलियाले गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको पाइएको र घरजग्गासमेत श्रीमतीको नाममा राखेको कारण जफत गर्ने प्रयोजनका लागि मुना पन्त थपलियालाई समेत प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया