काठमाडौं - बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र सुनारमाथि यौन दुव्र्यवहारको उजुरी परेको पुष्टि गरे । यौन दुव्र्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ ।
घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । यस्तै आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले देलेखमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो । पीडित किशोरीकी आमाले दिएको जाहेरी अनुसार मंगलवार राती घरमा सबै जना खाना खाई सुतिसकेको र उनीसमेत घरमा नभएको मौका छोपी ती पुरुषले छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।
आफ्नै किशोरी छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका ती पुरुषमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योग मुद्धामा ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।यसअघि पनि पटकपटक उनले छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया