गुल्मीकाे स्थानीय तहका ४१ जना कर्मचारीको सरुवा

४ बर्ष अगाडि

गुल्मीका स्थानीय तहमा कार्यरत ४१ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका १,६१३ जना कर्मचारीको सरुवा गर्ने क्रममा गुल्मीका पनि ४१ जनाको सरुवा गरेको हो । 

सरुवा हुनेहरुमध्ये सबैभन्दा धेरै सत्यवती गाउँपालिकाबाट ६ जना छन् । त्यस्तै दोस्रोमा मदाने, धुर्कोट र चन्द्रकोटबाट ५/५ जना सरुवा भएका छन् भने तेस्रोमा छत्रकोटबाट ४ जना सरुवा भएका छन् । गुल्मी दरबार र रुरुक्षेत्रबाट ३/३ जना, मालिका, कालिगण्डकी र रेसुङ्गाबाट २/२ जना र मुसिकोटबाट १ जना कर्मचारीको सरुवा भएको छ । त्यसैगरी गुल्मीका विभिन्न स्थानीय तहमा १६ जना कर्मचारी सरुवा भई आएका छन् । रेसुङ्गा नगरपालिकामा ४, मुसिकोट चन्द्रकोट र सत्यवतीमा २/२ जना र मालिका, मदाने, रुरुक्षेत्र, इश्मा, धुर्कोट र छत्रकोटमा १/१ जना कर्मचारी सरुवा भई आएका हुन् । 

आफूले काम गरिरहेको स्थानीय तहमा अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा अर्को स्थानीय तहमा कामकाज गर्नेगरी  खटाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले बताए । हाल स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्था नभएकोले सरुवा गरिएकाहरुलाई ‘अन्तर स्थानीय तह कामकाजमा खटाइएको’ भनी निर्णय भएको छ । 

सरुवाका लागि निवदेन दिएका कर्मचारीमध्ये मापदण्ड पुगेकाहरुलाई सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिका आधारमा सरुवा गरिएको र सरुवा भएकाहरु पहिलेदेखि स्थानीय तह स्थायी कर्मचारी नभई नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षाबाट नियुक्त भएका स्थानीय तहका कर्मचारीहरु मात्र रहेको बताइएको छ । 

सरुवा गरिएका कर्मचारीहरुलाई सरुवा (कामकाज खटाइएको) पत्र बुझ्नका लागि मन्त्रालय धाइरहनु नपर्ने व्यवस्था गरिएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै अनावस्यक भिडभाड कम गर्नका लागि दुवै तर्फको स्थानीय तहको ईमेलमा पत्र पठाइने भएकोले पत्रका लागि मन्त्रालय नधाउन भनिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया