अन्तर्राष्ट्रिय मुद्रा कोषसंग ४८ अर्ब ऋण माग्ने तयारीमा नेपाल

४ बर्ष अगाडि

काठमाडौं, नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४८ अर्ब रुपैयाँ ऋण माग्ने तयारी गरेको छ । आईएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत ४० करोड अमेरिकी डलर (४८ अर्ब रुपैयाँ) ऋण लिनका लागि एक तहमा सम्झौता भइसकेको छ ।

आईएमएफका मिसन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग तीन पटकसम्म छलफल गरेपछि यस्तो ऋण सम्झौता गर्न लागिएको हो । यो ऋण रकम आइएमएफको कार्यकारी समितिबाट भने स्वीकृत हुन बाँकी छ । यस्तो रकम ३८ महिनाका लागि उपलब्ध गराउन लागिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमफले ईसीएफ उपलब्ध गराउँछ । यो शर्तसहितको ऋण हो । 

त्यस्तै, राजस्व र सार्वजनिक खर्च बढाउन, वित्तीय क्षेत्र नियमन, सुपरीवेक्षण र आर्थिक पारदर्शिता कायम गर्न कार्यान्वयन गरिने विभिन्न कार्यक्रमका लागि यो रकम लिन लागिएको विज्ञप्तिमा जनाइएको छ । भ्रष्टाचार निवारण प्रयास तथा प्रशासनिक क्षमता अभिवृद्धि पनि यो ऋण रकम लिनुको अर्को उद्देश्य हो ।

घट्दो रेमिट्यान्स तथा वैदेशिक लगानी र बढ्दो व्यापार घाटाका कारण पछिल्लो समय नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । भुक्तानी सन्तुलनमा चाप देखिन थालेपछि सरकारले ईसीएफ ल्याउने तयारी गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया