काठमाडौं - नवलपरासी (बर्दघाट–सुस्ता) मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।
जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताए । आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताए ।
अपाङ्गतता भएकालाई सहयोग सामग्री
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सामग्री वितरण गरिएको छ । सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका अधिकृत विमला केसीले जानकारी दिए । छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि प्रतिविद्यार्थी रु ५०० का दरले कूल रु १५ हजार प्रदान गरिएको थियो ।
त्यस्तै गाउँपालिकाभित्र अपाङ्गता भएका १५ नागरिकका लागि आवश्यकताअनुसारका सामग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैसाखी प्रदान गरिएको उनले बताए ।
अपाङ्गतता भएका विद्यार्थी र व्यक्तिलाई सहयोगी सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न सङ्घ संस्थाको पनि सहयोग रहँदै आएको बताए ।
प्रतिक्रिया