काठमाडौं, केटिएमले भारतीय बजारमा २०२२ भर्सनको एड्भेन्चर ३९० अनाबरण गरेको छ । यो नयाँ भर्सनमा कम्पनीले नयाँ पेन्ट अप्सन, आकर्षक तथा मजबुत एलोई ह्विल र ट्रयाक्सन कन्ट्रोल मोडलाई अपडेट गरेको छ ।
यो नयाँ बाइक हाल कारोबार भैरहेको मोडलको तुलनामा थप आकर्षक र स्पोर्टी देखिएको छ । जसका लागि कम्पनीले यसको स्टाइल र फिचर्समा अपडेट गरेको छ ।
नयाँ पेन्ट अप्सन अन्तर्गत यसमा ह्वाइट हाइलाइट सहित ओरेन्ज÷ब्लु कलर तथा ओरेन्ज हाइलाइट सहित ब्ल्याक÷ग्रे गरी दुई नयाँ पेन्ट अप्सनलाई आकर्षक तबरबाट समायोजन गरिएको छ । त्यसैगरी एलोई ह्विल समेत थप आकर्षक देखिएको छ ।
यो बाइकमा अपडेट गरिएको सबैभन्दा महत्वपूर्ण फिचर्सका रुपमा ट्रयाक्सन कन्ट्रोल सिस्टमलाई लिइएको छ । स्ट्रिट र अफरोड मोडसहित उपलब्ध यो सिस्टमका कारण यो बाइकलाई दुबै रोड कन्डिसनमा सहजताका साथ राइड गर्न सकिन्छ ।
अन्य मेकानिकल पक्षमा भने कुनै परिबर्तन गरिएको छैन । ब्रेकिङ सिस्टम, सस्पेनसन र इन्जिन पहिलेकै यथावत गरिएको छ । यसअघिको ३७३।२ सिसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन र यसले प्रदान गर्ने ४३.५ पिएस पावर र ३७ एनएमसम्मको उच्चतम टर्कलाई यथावत गरिएको हो ।
एड्भेन्चर टुरर सेग्मेन्टमा प्रिमियम ब्रान्ड मानिएको यो बाइक नेपाली राइडरमाझ समेत लोकप्रिय रहँदै आएको छ । यो बाइकको मूल्य नेपाली बजारमा १० लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । भारतीय बजारमा औपचारिक लन्च भएलगत्तै यसको नयाँ भर्सन नेपाली बजारमा समेत भित्रिने अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया