१५ लाखको चेक र रु ५० हजार घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । 

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो ।

यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।

दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया