काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी छन् ।
हत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै उनले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् ।
प्रहरीले बुधबार नै दुर्गादेवीको डीएनए जाँचका लागि रगतको नमुना लिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मलाकी आमाले छोरीको भेजिनल स्वाब चेकजाँच गर्न भन्दै आफ्नो रगतको नमुना महाकाली अञ्चल अस्पतालमा बुझाएको बताए । ‘निर्मलाकी आमाले आफ्नो रगतमार्फत निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाऊँ भनी निवेदन दिएपछि उहाँको रगतको नमुना लिइएको हो,’ कञ्चनपुर प्रहरी प्रमुख कडायतले भने ।
उनका अनुसार रगतको नमुना बिहीबार चेकजाँचका लागि कञ्चनपुरबाट केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइनेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले निर्मलाकी आमाको रगतको नमुना लिइएकाबारे बुधबार अबेरसम्म आधिकारिक जानकारी नआएको तर लिइएको भए जुन प्रयोजनका लागि लिइएको हो सोही प्रयोजनका लागि प्रयोग गरिने बताए ।
प्रतिक्रिया