काठमाडौं - नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो ।
जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि गाउँ÷नगरपालिका अधिवेशन पछि हुने गरी हाललाई रोकिएको उल्लेख गरिएको छ । जिल्लामा नेताको सहमतिबाटै जिल्लास्थित ती क्षेत्रीय अधिवेशनको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिए ।
प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुने समय तोकिएकाले यसअघि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समितिको ठहर छ । यसले कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको जनाइएको छ ।
यस्तै जिल्लामा रहेको १४ पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने सम्भावना देखिएको हो ।यसअघि कांग्रेसको १२ र १३औँ महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो ।
कास्की सभापतिमा बराल
नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।
शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।
कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो ।
प्रतिक्रिया