सामाजिक सुरक्षा कोषमा १० अर्ब २९ करोड योगदान संकलन, वैदेशिक रोजगारीमा रहेकालाई दायरामा ल्याइने

४ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका युवा, स्वरोजगार, असङ्गठित क्षेत्रमा कार्यरत, करार, ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । 

सामाजिक सुरक्षा दिवसका अवसरमा सनिवार राजधानीमा  आयोजित कार्यक्रममा मन्त्री  श्रेष्ठले उक्त कुरा बताएका हुन् । नयाँ युगको सुरुआतका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ । 

२०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यान्वयनमा आएको छोटो समयमै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सामाजिक संरक्षण प्राप्त गर्न थालेका छन् । कोषले योगनकर्ताका लागि विभिन्न चार योजना सञ्चालनमा ल्याएको छ । 

हालसम्म १५ हजार ८२४ रोजगारदाता एवं दुई लाख ९५ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा अहिलेसम्म रु १० अर्ब २९ करोड योगदान रकम संकलन भएको छ । 

कोषमा आवद्ध योगदानकर्तामध्ये हालसम्म छ हजार ४५० योगादनकर्तालाई रु सात करोड १६ लाख ८५ हजार औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको रु ६० लाख ५८ हजार उपचार खर्च भुक्तानी गरिएको छ । कोषमा आवद्ध भई असामयिक निधन भएका १२३ योगदानकर्ताको आश्रित पतिपत्नी वा बुबाआमालाई रु एक करोड १३ लाख भुक्तानी भएको छ ।

कोषले मृतक योगदानकर्ताका आश्रित परिवारलाई मासिक रु २० लाख ६५ हजार पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

योगदान रकम सङ्कलन सुरुआती दिनदेखि नै प्रविधिको प्रयोग गरी योगदान संकलनदेखि अवकाश तथा पेन्सन भुक्तानीलाई अनलाइन बनाइएको कोषले जनाएको छ । संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको भन्दै मन्त्री श्रेष्ठले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाइने बताए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया