छुट्टा छुट्टै घटना : टिपरको ठक्करबाट एकको मृत्यु, देवरको हत्या आरोपमा भाउजूसहित २ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । 

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै     गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

देवरको हत्यामा भाउजू पक्राउ
आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । 

चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया