मौद्रिक नीतिको समीक्षापछि अब सेयर बजार कता मोडिएला त ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज (शुक्रबार)सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर बजारलाई नकारात्मक असर पार्ने व्यवस्थाहरु थप गरेको छैन । गत सातादेखि नै लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षामा रहेका थिए । समीक्षामा के–कस्तो विषय समावेश हुन्छ भन्ने कौतुहलता पनि रहेको थियो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा थिए ।
 
केन्द्रीय बैंकले समीक्षामार्फत तरलता सहज बनाउन केही लचकता अपनाएको छ । अहिले बजारमा मुख्य समस्या तरलताकै रहेको छ ।

मौद्रिक नीति समीक्षामार्फत आयातमा नियन्त्रणका प्रयास गरिएको छ । सीडी रेसियोमा केही लचक नीति लिने केन्द्रीय बैंकले संकेत गरेको छ । सेयर बजारमा नकारात्मक असर गर्ने कुनै पनि नीतिगत व्यवस्था गरिएको छैन । यसअघि बजारमा विभिन्न हल्लाहरु चलेका थिए । मौद्रिक नीति समीक्षामार्फत ७० प्रतिशतको सेयर धितो कर्जाको सीमा घटाइन्छ भन्ने लगायतका हल्लाहरु पनि थिए । 

यी तथ्यहरुका कारण बजार आगामी दिनहरुमा सकारात्मक गतिमै अघि बढ्ने अनुमान गर्न सकिन्छ । किनभने यसबीचमा बजारमा करिब २२ प्रतिशतको करेक्सन आइसकेको छ । बजारले ४ र १२ करोडको सीमालाई पनि पचाइसकेको छ । यतिबेला बजारमा सेयर भाउ सस्तो छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

पछिल्ला ४ महिनामा बजारमा ठूलै उतारचढाव देखिए । नेप्से सूचकमा करिब ७ सय अंकसम्मको गिरावट आयो । यसैगरी, यसमा केही स्पिड रिकोभरी पनि भयो । तर त्यसपछि भने बजारको गति अलि सुस्त देखिएको छ । तीब्र उतारचढावपछि बजारको गति सामान्यतिर गएको हो । केही समयको साइडवेजपछि बजारले फेरि नयाँ रफ्तार लिन सक्ने आँकलनहरु भइरहेका छन् ।

अहिले सेयरधनी बन्दा तत्कालै लाभांश हात पार्न सकिन्छ । अब लगानीकर्ताहरुको मनोबल सकारात्मक हुन मात्र जरुरी छ । यी परिदृश्यहरुका बीचमा बजारको आगामी गति औसतमा सकारात्मक हुने विश्लेषण गर्न सकिन्छ । लगानीकर्ताहरुले स्वयं अध्ययन, विश्लेषण गरी सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । 
 
तरलता सहज भएमा सेयर बजारका लागि आगामी दिन राम्रै हुने अनुमान गर्न सकिन्छ । यस साता भने नेप्से सूचक १.३५ प्रतिशतले घटेर २७३१.७८ विन्दुमा पुगेको छ । बिहीबार ३.७९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया