‘लप्पन छप्पन २’ र ‘प्रेमगीत ३’ भिड्दै : एउटै वितरकका दुई फिल्मले एउटै मिति कसरी रोजे ?

४ बर्ष अगाडि

काठमाडौं, एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु नेपाली फिल्म क्षेत्रका लागि नौलो कुरा होइन । कोभिडभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुँदै आएको थियो । एकै मितिमा तीनवटासम्म फिल्म रिलिज भएका उदाहरण पनि धेरै छन् । वितरकबीच इगोको लडाइँ र निर्माताबीच ‘मेरै फिल्म राम्रो’ भन्ने आत्मविश्वासको लडाइँले फिल्मको भिडन्त हुने गरेको पाइन्छ । 
 
कोरोनाका कारण थला परेको नेपाली फिल्म क्षेत्र विस्तारै लैरो टेक्दै छ । यही तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि यतिबेला नेपाली फिल्मको प्रदर्शन मिति घोषणा गर्न तछाडमछाड चलेको छ । त्यति मात्र होइन, नेपाली निर्माताहरु अब एउटै मितिमा फिल्म भिडाउन समेत तम्सिएका छन् । आउँदो फागुन १३ गते यसको पहिलो झलक हेर्न पाइनेछ ।
 
दुई महिना अगाडि मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ ले महाशिवरात्रीलाई लक्षित गर्दै फागुन १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, प्रदर्शन मिति नजिकिँदै गर्दा समेत फिल्मको निर्माण टिम कानमा तेल हालेर बसेको देखेपछि बिहीवार निर्माता सन्तोष सेनले यही मितिमा फिल्म ‘प्रेमगीत ३’ रिलिज गर्ने घोषणा गरे । रोचक कुरा के छ भने दुवै फिल्मका वितरक एउटै हुन् ।

फिल्मलाई कुन मितिमा लगाउने भन्ने कुरा निर्माता र वितरकबीच छलफल गरेपछि तय गरिन्छ । तर, ‘लप्पन छप्पन २’ र ‘प्रेमगीत ३’ का वितरक (गोविन्द शाही र मनोज राठी) एउटै परे । एउटै वितरकका दुई फिल्मले एउटै मिति कसरी रोजे ? के वितरकले हेलचेक्राइ गरेका हुन् ? कि निर्माताको स्वइच्छा हो ? मनोज राठी आफूसँग दुवै फिल्मले सल्लाह नगरी रिलिज तोकेको बताउँछन् ।
 
उनी भन्छन्, ‘नेपाली निर्माताले न हामीले भनेको मान्छन् न हामीलाई मान्छे गन्छन् । हामी त पैसा लगाउने अनि बेवकुफ हुने मात्र हो । न ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गर्दा हामीलाई सोध्यो न ‘प्रेमगीत ३’ ले सोध्यो । हामीलाई जानकारी विनै रिलिज घोषणा गरिन्छ भने हामीले के गर्न सक्छौं र ?’ दुई फिल्मका निर्माता बसेर रिलिजको बारेमा सहमति जुटाउन उनको आग्रह छ ।
 
‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले भने आफूले वितरकसँँग छलफल गरेपछि मात्र प्रदर्शन मिति घोषणा गरेको बताए । ‘फिल्म रिलिज गर्ने जिम्मेवारी वितरकको हुन्छ । अनि मैले वितरकसँग छलफल नै नगरी फिल्मको रिलिज घोषणा कसरी गर्न सक्छु र रु वितरकले नै ‘लप्पन छप्पन २’ फागुन १३ मा आउनेरनआउने टुंगो छैन भनेपछि मैले प्रदर्शन मिति घोषणा गरेको हुँ,’ उनले भने । 
 
फिल्मको भारत प्रदर्शनको बारेमा छलफल गर्न अहिले मुम्बईमा रहेका सेनले नेपाल आएपछि वितरक र ‘लप्पन छप्पन २’ को निर्माण टिमसँग बसेर रिलिजको विषयमा सहमति जुटाउन प्रयास गर्ने बताए । उनले अगाडि भने( ‘कोरोना महामारीले थलिएको नेपाली फिल्म इन्डस्ट्री विस्तारै चलायमान हुने क्रममा छ । यो बेला फिल्म जुध्नु राम्रो होइन । हामी सहमति गरेरै अघि बढ्नेछौं ।’ 
 
‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टलाई वितरक गोविन्द शाहीले ‘प्रेमगीत ३’ टिमले सल्लाह विनै प्रदर्शन मिति घोषणा गरेको जानकारी गराएका छन् रे । मुकुन्द भन्छन्, ‘वितरककै हेलचेक्राइ हो वा होइन थाहा भएन । तर, हामी फागुन १३ गतेबाट पछाडि हट्दैनौं ।’ दुई ठूला फिल्म एउटै मिति (फागुन १३) मा भिड्न लाग्नुमा निर्माता र वितरकमध्ये कसको राजनीति हो ? बुझ्न गाह्रो छ ।(टिभिफिल्मी)

४ बर्ष अगाडि

प्रतिक्रिया