काठमाडौं - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।
उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।
साथै महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।
कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित
नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ ।
एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया