काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजबाट २ नयाँ कम्पनीको कारोबार खुल्दैछ । सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार आजबाट खुल्ने भएको हो ।
यी दुवै कम्पनीको साधारण सेयर (आईपीओ) हिजो नेप्सेमा सूचीकृत भएको थियो । सामलिङ्ग पावर कम्पनी लिमिटेडको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) हिजो नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SPC सिम्बोल पाएको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए ।
जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियो । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।
यस्तै न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) हिजो नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि NYADI सिम्बोल पाएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
उक्त आईपीओको बाँडफाँड कार्तिक ५ गते, शुक्रबार सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए ।
जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियो । जस अनुसार २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए । बाँकी २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको थियो ।
प्रतिक्रिया