काठमाडौं– बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा। गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ ।
सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् ।
सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो । तर, सो समयभित्र माग पूरा नभएपछि केसीले पत्रकार सम्मेलन गर्दै आजका लागि अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमभित्र विधेयक पारित भएपनि उनको अधिकांश माग पूरा नभएकाले आजैदेखि अनसन सुरु गर्न लागेको उनका सहयोग प्रितम सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
आज ४ बजे सम्ममा अनशन बसिसक्ने सुवेदीले बताए । तर अनशनस्थलको टुङ्गो भने लाग्न बाँकी रहेको छ ।
सुवेदीले भने, ‘४ बजे अघिनै अनशन बसिसक्ने तयारी हुँदैछ । सर अहिले ठाउँ खोज्दै हुनुहुन्छ ।’
आज बहुमतले पारित भएको विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जनाकारी दिइन् ।
विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।
बैठकपछि काँग्रेस सांसद थापाले उदेकलाग्दो किसिमले विधेयक पास गरेको प्रतिक्रिया दिए । सभापति घर्तीले फरक मत राख्ने सांसदहरुले संसदमा पनि राख्न सक्ने प्रतिक्रिया दिएकी छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए ।
प्रतिक्रिया