आर्थिक वर्ष शुरु भएको ४ महिना नाघिसक्दा पुँजीगत खर्च ४.८७ प्रतिशत मात्रै

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष शुरु भएको ४ महिना नाघिसक्दा पनि पुँजीगत खर्च भने ५ प्रतिशत पनि पुगेको छैन । राजस्व असुली लक्ष्य अनुसार नै भए पनि पुँजीगत खर्च भने एकदमै सुस्त नै देखिएको छ । 

चालु आर्थिक वर्षको मंसीर ४ गतेसम्म कुल लक्ष्यका ४.८७ प्रतिशत मात्रै खर्च भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । नयाँ प्रतिस्पथापन बजेटमा पुँजीगत खर्च अन्तर्गत ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपियाँ विनियोजन गरिएको छ तर अहिलेसम्म जम्मा २१ अर्ब ४१ करोड ६ लाख रुपियाँ मात्रै खर्च भएको छ ।

पुँजीगत खर्च बढाउने नै भनेर अर्थमन्त्री जनार्दन शर्माले दुई सिफ्टमा काम गर्ने अवधारणा समेत अघि सारेका थिए । सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थप्ने समेत बताएका थिए । अर्थमन्त्री शर्मा योजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने अर्थमन्त्रीको रुपमा परिभाषित हुन बेर छैन ।

चालु आवको ४ महिना ४ दिन बित्दा सरकारी राजस्वमा ३ खर्ब ४१ अर्ब २३ करोड १३ लाख रुपियाँ जम्मा भइसकेको छ । जुन बजेटमा लिइएको लक्ष्यको २८.९ प्रतिशत हो । त्यसमा ३ खर्ब १२ अर्ब ७ करोड ७६ लाख कर राजस्व र २९ अर्ब १५ करोड ३७ लाख रुपियाँ गैर कर राजस्व रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया