कञ्चनजङ्घा क्षेत्रमा पर्यटक सङ्ख्या बढ्दै, मनकामनामा बढ्यो दर्शनार्थी

४ बर्ष अगाडि

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भने आन्तिरक तथा बाह्य पर्यटक उत्साहजनकरूपमा बढ्दै गएका हुन् ।

कोरोनाका कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गत  महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो  । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ । नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ ।

अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।

पर्यटकको चहलपहल बढेसँगै तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय बस्तीमा पयर्टकको खचाखच हुन थालेको छ । त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला बस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल ९पूर्व–पश्चिम पदमार्ग० पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

लामो समयसम्म कोभिड–१९का कारणले बन्द भएको कञ्चनजङ्घा क्षेत्रका होटल खुल्ल थालेका छन् । ठूलो लगानी गररे निर्माण गरिएका होटल दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । तर गत सातादेखि पर्यटकको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ । कोभिडका कारण बन्द रहेका होटल व्यवसायी कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आएपछि पर्यटन तथा होटल व्यवसायी अहिले उत्साहित बनेका छन् ।

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन  छ हजार ७०० जनाले चढेको पहिलोपटक हो । 

कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया