एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सातामा ५ लाख ५० हजार पाउन्ड तलब बुझ्ने गर्छन् ।
नेपाली रुपैयाँमा रोनाल्डोले एक सातामा युनाइटेडबाट मात्रै ८ करोड ७६ लाख ५५ हजार ५ सय ८६ रुपैयाँ कमाउँछन् । यसरी हेर्दा उनले युनाइटेडमा एक दिनमा १ करोड २५ हजार कमाइ गर्छन् ।
यही कमाइलाई हिसाब गर्दा उनले एक घन्टामा ५ लाख २१ हजार कमाइ गर्छन् भने उनको प्रति मिनेटको कमाइ करिब ९ हजार छ । यो केवल युनाइटेडबाट आउने बिना बोनसको कमाइ मात्रै हो ।
रोनाल्डोको कमाइ यो भन्दा धेरै गुणा त फुटबलभन्दा बाहिरबाटै हुने गरेको छ । उनले राष्ट्रिय टोलीबाट पाउने तलब र सुविधा अलग्गै भइहाल्यो ।रोनाल्डोले अहिले युनाइटेडमा पाइरहेको तलब पूर्व क्लब इटालियन युभेन्टसमा पाएको भन्दा २५ प्रतिशतले बढी हो । अर्थात्, रोनाल्डोले युभेन्टसमा जति तलब थाप्थे, युनाइटेडमा त्योभन्दा बढी छ ।
रिपोर्ट अनुसार युनाइटेडले खेलाडीको तलबमा दिने खर्चमा मात्रै अहिले एक सातामै १३ लाख पाउन्डले बढेको छ । रिपोर्टमा उल्लेख भए अनुसार अहिले युनाइटेडले खेलाडीको तलबका लागि ३ महिनामा ८ करोड ८५ पाउन्ड खर्च गर्नुपर्ने अवस्था छ । यो भनेको पहिलाको तुलनामा १ करोड ६६ लाख पाउन्ड बढी हो ।
प्रतिक्रिया