काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ।
यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसणि ढकालले हस्ताक्षर गरेका छन्।
आगामी साताभित्रै मध्य भोटेकोशीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । धितोपत्र दोस्रो बजारमा शेयर कारोबार पनि आगामी सातामैबाटै आउन सक्ने सम्भावना रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको थियो ।
प्रतिक्रिया