मध्य भोटेकोशीको आईपीओ सूचिकरण कहिले? कतिमा होला पहिलो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँड भएको आधा महिना भइसकेको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत होला भन्ने कुरा कम्पनीको आईपीओ पर्ने लगानीकर्ताहरूलाई चासोको विषय बनेको छ । 

हालसम्म कम्पनीको साधारण सेयर आईपीओ सूचीकरणको प्रकृया चलिरहेको छ । छिटोमा एक सातादेखि ढिलोमा १५ दिनभित्र कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएर कारोबार सुरू गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । 
 
कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको थियो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया