यातायात व्यवस्था कार्यालय भरतपुरले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको छ । भरतपुर महानगरपालिका भएसँगै सवारी साधनको प्रदूषण परीक्षण गर्ने भनिए पनि प्राविधिकको अभावमा ढिलो गरी काम शुरु भएको हो ।
कार्यालयका प्रमुख देवीप्रसाद आचार्यका अनुसार एक महीना अघि उपकरण आएको थियो । एक जना मात्र प्राविधिक कर्मचारी भएकाले अन्य कामको चापले काम गर्न रोकिएकामा सोमबारबाट परीक्षण थालिएको हो । आचार्यका अनुसार पहिलो दिन रातो प्लेटका पेट्रोलबाट चल्ने १० सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ । ती सबै सवारीले हरियो स्टिकर प्राप्त गरेको उहाँले बताउनुभयो । सबै परीक्षण गर्दा एउटा सवारीलाई करीब एक घण्टा लाग्ने हुँदा प्राविधिक थप नभएसम्म धेरै सवारी साधन परीक्षण गर्न नसकिने आचार्यले बताउनुभयो ।
यस अघिसम्म यहाँका सबै सवारीको वातावरण परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता रहिआएको थियो । रु ३५ राजश्व तिरेर वातावरण परीक्षण गर्न सकिने छ । सहज परीक्षणका लागि जिल्लामा कम्तीमा चार प्राविधिक कर्मचारी आवश्यक पर्ने आचार्यले बताउनुभयो ।
प्रतिक्रिया