काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत इजरायल लैजान आग्रह गरेका छन् ।
मंगलबार मन्त्रालयमा नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग शिष्टाचार भेट गर्दै श्रममन्त्री श्रेष्ठले उक्त आग्रह गरेका हुन् । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा दुई देशबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालिन सेवा केन्द्रमा नेपाली सहायक कामदार लैजान लागेकोमा इजरायली सरकारप्रति आभार व्यक्त गर्दै योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह गरे ।
इजरायलले १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान गर्ने प्रक्रियालाई अन्तिम रूप दिँदै छ । मन्त्री श्रेष्ठले पुर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको बताउँदै मन्त्री श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा व्यावसायिक कृषि कार्य गरिरहेको बताए ।
राजदूत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमासमेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताएका छन् । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् । नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
प्रतिक्रिया