आखिर किन बाहिरिइन मलिका महत फिल्म ‘सत्यम्’ बाट ?

४ बर्ष अगाडि

काठमाडौं, अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम्’ मा काम नगर्ने भएकी छन् । पढाईका कारण फिल्मलाई समय दिन नसक्ने भएपछि उनी फिल्मबाट बाहिरिएकी हुन् । उनको स्थानमा निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्ध गरेको छ । उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । उनीहरुलाई पहिलो पटक ठूलो पर्दामा एकसाथ हेर्न दर्शकलाई रोचक हुने देखिन्छ । 
 
पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि नायिका महतले फिल्ममा काम गर्न नसकेको निर्माता टिमले जनाएको छ।

‘सत्यम’ का लागि मलिकाभन्दा अगाडि उपासनालाई नै अफर गरिएको थियो । तर, अर्को फिल्मको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिइनन् ।

यो फिल्ममा अभिनेता राजेश हमालले मुख्य भूमिकामा अभिनय गर्दैछन् । उनको जोडी निलिमा चन्दसँग बाँधिएको छ । फिल्ममा अनुप विक्रम शाही, कृष्ण जोशी र अभय बरालको पनि मुख्य भूमिका रहनेछ । पर्दामा दर्शकले हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । 
 
यो फिल्मबाट राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ निकै प्रतिक्षीत बनेको छ । फिल्ममा मिलन सिजापति पनि नकारात्मक भूमिकामा देखिनेछन् । यो फिल्मबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । 
 
नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने फिल्मलाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै फिल्मका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्मका सह(निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । फिल्मको डिओपीमा राजेश श्रेष्ठ छन् भने टेक्निकल सुपरभाईजर जीवन थापा हुन् । 
 
एक्सन जनरामा बन्ने यस फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह(संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, फिल्मको डिओपीमा राजेश श्रेष्ठ छन् भने टेक्निकल सुपरभाईजर जीवन थापा हुन् ।
 
फिल्मको प्रोडक्सन हेड मनोज जोशी, प्रोडक्सन डिजाईनर आशिका शर्मा, प्रोडक्सन म्यानेजर राज कुमार कार्की, एशोसियट निर्देशक सुबास सुबेदी रहनेछन् भने रामजी लामिछानेले गीतको भिडियोमा कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र राम कुमार श्रेष्ठ छन् । 
 
फिल्मको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ । मंसिरबाट दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मलाई माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिनेछ । फिल्मको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । पोखरामा निर्माणधिन सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया