सबै धर्म–सम्प्रदाय सँग समन्वय गरेर अगाडी बढ्छौं: कमल थापा

७ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडी बढ्ने बताउनु भएको छ । आज सोमबार पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजाति बिचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दु, बौद्ध, किराँत, मुस्लीम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दावी गर्नुभयो । 

राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडी बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको दावी गर्नुभयो । सवै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने समेत थापाले स्पष्ट पार्नुभएको छ । 

सो कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले सम्पुर्ण आदिवासी जनजातिको भाषा, लीपीको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताउनुभयो । सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु अटाउन सक्ने एजेण्डा राप्रपाले अख्तियार गरेकोले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।
आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तिमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया