काठमाडौं - नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजार भन्दा कम हुने गरेको छ ।
धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो ।
सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले देखाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको ‘वैदेशिक रोजगारसम्बन्धी सामाजिक प्रभाव विश्लेषण अध्ययन’ ले ४५ प्रतिशत परिवारको वैदेशिक रोजगारीबाट मासिक आय औसत २५ हजार अर्थात् वार्षिक आय दुईदेखि चार लाख रुपैयाँ रहेको देखाएको छ ।
आयको वर्गीकरण प्रत्येक दुई लाखको अन्तरमा गरिए अनुसार अध्ययनले सबैभन्दा कम आय दुई लाखभन्दा कम वार्षिक आय समूहमा १८ प्रतिशत र सबैभन्दा बढी आय १२ लाखभन्दा माथिको समूहमा चार प्रतिशत परिवार रहेको पाइएको छ ।
सबैभन्दा ठूलो परिवारको हिस्सा ४५ प्रतिशतले २–४ लाख वार्षिक आय हुने समूहमा र सबैभन्दा सानो हिस्सामा रहेका युवाले मासिक ७५ हजार अर्थात् वार्षिक आठदेखि १२ लाख रुपैयाँ आय गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएका देशमध्ये यूएई र कतार दुवैमा २५ प्रतिशत, साउदी अरब २१ प्रतिशत, मलेसिया २० प्रतिशत, कुवेतमा ६ प्रतिशत रहने गरेका छन् ।
आम्दानीका हिसाबले आकर्षक मानिएका इजरायल २ प्रतिशत र गणतन्त्र कोरियामा १ प्रतिशत नेपाली मात्र रहेको पाइएको छ ।
प्रतिक्रिया