धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाले दिए निवेदन, आवेदन दिने भोलि अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि मागिएको आवेदनमा तीन जनाले निवेदन दिएका छन्। अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाका अनुसार मंगलबार बेलुकीसम्म तीन जनाले निवेदन दिएका हुन्।

निवेदन दिनेहरूमा नीरज गिरी, बोर्डकै डानवराज अधिकारी र अनिल पौडेल छन्। निवेदन दिने गिरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन्। उनी लामो समय देखि बोर्डमा कार्यरत छन्। पूँजी बजारमा लामो समयको अनुभव बोकेका गिरी यस पटक पनि प्रतिस्पर्धामा उत्रिएका छन्। यस अघि उनी अन्तिम तीनबाट फालिएका थिए।

अधिकारी बोर्डका उपकार्यकारी निर्देशक हुन्। उनले पनि बोर्डमा निकै लामो अनुभव बोकेका छन्। करिब एक महिना अघि मन्त्रालयमा उनको पक्षमा ३५ कर्मचारी रहेको हस्ताक्षर सहितको पत्र दिएका थिए। अधिकारी बोर्ड अध्यक्ष भए काम गर्न समेत सजिलो हुने तर्क अघि सारिएको छ।

निवेदन दिने अनिल पौडेलले भने आफ्नो बारेमा केही खुलाएका छैनन्। निवेदन दिँदा समेत शिलबन्दी पर्ने भएकोले उनी को हुन् भन्ने कुरा अझै नखुलेको मन्त्रालय स्रोतको भनाइ छ। 

बोर्ड अध्यक्षमा बिहीबारसम्म निवेदन दिन सकिन्छ। बुधवार सार्वजनिक बिदा परेकोले बाँकीले बिहीबार नै निवेदन दिने बताएका छन्। बिहीबार निवेदन दिने तयारीमा रहेकामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी गोपाल भट्ट, बीमा समितिका निवर्तमान अध्यक्ष चिरन्जिवी चापाँगाइ,चार्टड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य,नेपाल स्टक एक्सचेन्जका पूर्व कार्यकारी अधिकृत सीताराम थपलिया लगायत छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया