काठमाडौं, दिपावलीमा रिलिज भएका बलिउड सुपरस्टार अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ ले प्रदर्शनको चार दिनमा ९१ करोड ५९ लाखको कमाई गरेको छ भने साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘अन्नाथे’ ले विश्वभरबाट प्रदर्शनको पाँच दिनमा नै कूल १ सय ८६ करोड ५८ लाख कमाउन सफल भएको छ ।
रजनीकान्तको फिल्मले प्रदर्शनको पहिलो दिन ७० करोड १९ लाख छापेको थियो । त्यस्तै, ‘अन्नाथे’ ले दोस्रो दिन ४२ करोड ६३ लाख, तेस्रो दिन ३३ करोड ७१ लाख, चौथो दिन २८ करोड २० लाख र पौचौ दिन ११ करोड ८५ लाख कमाएको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्विटरमा उल्लेख गरेका छन् । अबको दुई दिनमा फिल्मको कमाई २ सय करोड नाघ्ने देखिएको छ ।
‘अन्नाथे’ रजनीकान्तको ९औं फिल्म हो, जसले बक्सअफिसमा सय करोडको आँकडा नाघेको छ । यो फिल्मलाई शिवाले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री कीर्ति सुरेशले रजनीकान्तको बहिनीको भूमिका निर्वाह गरेकी छन् । यसका अलावा खुशबू सुन्दर, मीना र जगपथी बाबूको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । फिल्मलाई ‘पेद्दन्ना’ नामबाट तेलगुमा डब समेत गरिएको छ ।
प्रतिक्रिया